लालबन्दी नगरपालिकाको संक्षिप्त परिचय

लालबन्दी नगरपालिका सर्लाही जिल्लाका तत्कालीन लालबन्दी, जब्दी र पत्थरकोट गाविसलाई गाभेर वि.सं. २०७१ मा नेपाल सरकारले गठन गरेको हो । यो नगरपालिका सर्लाही जिल्लाको उत्तरपूर्वी भागमा चुरे पर्वत श्रृङ्खलाको दक्षिणी ढलोदेखि औसत ५.५ कि.मी. चौडाइका दरले दक्षिणपश्चिमतर्फ क्रमशः साँघुरिँदै, मोडिँदै १५ कि.मी. दक्षिणसम्म लम्बिएको छ । बढ्दो शहरीकरण, व्यवसायिक क्रियाकलापमा वृद्धिका कारण यो नगरपालिका जिल्लामा आकर्षणको केन्द्र बन्दै गइरहेको छ तथा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा विकास भइरहेको छ । 
कुल क्षेत्रफल ६४.९ व.कि.मी. रहेको यस नगरपालिकामा जिल्लाकै विभिन्न गाविस÷नगरपालिकादेखि देशका विभिन्न जिल्लाहरूबाट आएका विविध भाषा, धर्म, जातिका जनसंख्याको बसोवास रहेको छ । कुल ६७२५ घरपरिवार रहेको यस नगरपालिकाको कुल जनसंख्या ३५२७० रहेको छ । यसमध्ये महिलाको संख्या १७०८६ र पुरुषको संख्या १८१८४ रहेको छ ।
नगरपालिकाका सबै वडा सर्वयाम यातायात सञ्चालन गर्न सकिने यातायात सञ्जालबाट जोडिएका छन् । लालबन्दी नगरपालिकाको केन्द्र भागमा अवस्थित लालबन्दी बजार गोलभेँडाको उत्पादन र निर्यातका लागि देशव्यापी रुपमा ख्यातिप्राप्त छ ।
लालबन्दी नगरपालिकाको सबै भन्दा समृद्ध पक्ष भनेको यहाँको तरकारी उत्पादन नै हो त्यसमा पनि टमाटर(गोलभेडा) उत्पादनले नेपाल भरि नै परिचय दिएको छ । यस नगरपालिकाको उत्तरमा चुरे क्षेत्र पर्ने हुँदा वन जंगल र जैबिक विविधताले भरिपुर्ण भएको यस नगरपालिकाको डाबरी डाँडा, जलकिनि मन्दीर, डुमडुमे शिबालय मन्दीर परिसर, वेतिनि देवालय परिसर, विभिन्न बौद्ध गुम्बाहरु, चर्चहरु, मश्जिद र मिश्रीत जानजातिको बसोबास भएको हुँदा सांस्कृतिक सम्पदाको हिसाबले समेत समृद्ध देखीन्छ ।
    भौतिक तथा सामाजिक संरचना र आधारभुत सेवाको हिसाबले नव घोषित नगरपालिका भएपनि तुलनात्मक रुपले राम्रो रहेको छ । स्वास्थ्य सेवाको क्षेत्रमा १५ शैयाको सरकारी अस्पताल, निर्माणाधिन १०० शैयाको सामुदायिक सहकारी अस्पताल तथा सामूदायिक आँखा उपचार केन्द्र र विभिन्न संघ सस्ंथा द्वारा संचालित स्वास्थ्य सेवाहरु यस नगरपालिकामा उपलब्ध रहेको छ । स्नातकोत्तर तह सम्म अध्ययन गर्न सकिने सामूदायिक विद्यालय जनज्योति बहुमुखी क्याम्पस, कक्षा १२ सम्मको जन्ज्योति उ.मा.वि., ३ मा.वि., ६ नि.मा.वि. र ९ प्रा.वि.हरु, स्ंथागत रुपमा २ उ.मा.वि., ३ मा.वि. र २ नि.मा.वि. रहेकाले शिक्षा क्षेत्रमापनि अग्र स्थानमानै रहेको छ । तुलनात्मक रुपमा शहरी क्षेत्र कम भएपनि बाटो घाटोहरुको अवस्था सन्तोषजनक रहेको यस नगरपालिकामा विद्युत, टेलिफोन, मोवाईल सेवा लगाएत संचारको क्षेत्रमा विभिन्न इन्टरनेट सेवाहरुले ९० प्रतिशत सेवा उपलब्ध गराउँदै आएको छ ।